पुस्तकालय दिवस

आदिकविमा आठौं पुस्तकालय दिवस सम्पन्न

दमौली/१५, भाद्र

“पुस्तकलाई माया गरौं पुस्तकालयको विकास गरौं” भन्ने मूल नाराका साथ मंगलबार आदिकवि भानुभक्त क्याम्पसमा आठौं पुस्तकालय दिवस सम्पन्न भयो । 

नेपालमा वि.स. १८६९ भाद्र १५ गते तत्कालीन राजा गीर्वाण युद्ध वीर विक्रम शाहले लालमोहर जारी गरी “पुस्तक चिताइ तहविल” को स्थापना गरेको तिथिलाई आधार मानेर २०६५ सालदेखि नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । देशका विभिन्न स्थानका पुस्तकालय एवम् विभिन्न शिक्षण, पुस्तकालयसँग सम्बन्धित सरोकारवाला संस्थाहरूले विविध कार्यक्रमका साथ आठौं पुस्तकालय दिवस मनाए । यसै सन्दर्भमा आदिकवि भानुभक्त क्याम्पसले पनि पुस्तकालय दिवसको अवसरमा तनहुँका विशिष्ट पहिचान झल्कने ऐतिहासीक, धार्मिक, सांस्कृतीक तथा पर्यटकिय स्थलहरुको फोटो प्रर्दशनि गरी पुस्तकालय पुस्तकालय दिवस मनाइयो । कार्यक्रममा फोटो पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष गोरा मियाले आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयलाई ३६ थान फोटो हस्तान्तरण गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिले प्रर्दशनिको उद्घाटन गर्नु भएको थियो । 

पुस्तकालय प्रयोगमा रुची जगाउने, अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवं ज्ञानमा आधारित समाज निर्माणको लागि वातावरण सृजना गर्ने, शैक्षिक कृयाकलापमा पुस्तकालयको प्रयोग तथा महत्वलाई बढाउने, पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरू बारे आम नागरिकहरू, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालय प्रेमी एवं अन्य सरोकारवाला निकायहरू बिच प्रचार प्रसार गर्ने लगायतका विभिन्न उद्देश्यका साथ पुस्तकालय दिवस मनाउन थालिएको हो । 

क्याम्पस पुस्तकालय सल्लाहाकार समितिका संयोजक प्रेमप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्य एवं एक देव आले चिन्तन प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्की,  भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट, सामाजिक विज्ञान विभाग प्रमुख कमलामोहन वाग्ले, देवी देउराली पुस्तकालयका अध्यक्ष बाबुराम वगाले, ए.वि.सी विज्ञान कल्वका अध्यक्ष होमनाथ ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पुस्तकालयको महत्व र व्यवस्थापनका पक्षमा चर्चा गर्नुभएको थियो । 

आगामी दिनमा यस आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय विद्यार्थी र प्राध्यापकका लागि मात्र नभइकन यस क्षेत्रका प्राज्ञिक व्यक्तित्व एवम् अनुसन्धानकर्ताहरूका लागि समेत अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य एवं पुस्तकालय सल्लाहकार समितिकी सदस्य सरिता थापा भण्डारीले कार्यक्रममा स्वागत गर्नुभएको थियो भने कार्यक्रम सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य रामलिला सुवर्णकार, नेपाली विभागका प्रमुख डा. ईश्वरचन्द्र बाग्ले, व्यवस्थपन विभाग प्रमुख सदाखर तिमिल्सिना, उ.मा.व्यवस्थापन संयोजक चिरञ्जिवी वस्नेत, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख वसन्त कंडेल, प्रेश युनियन तनहुँका अध्यक्ष ओमकार आचार्य लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।