दमौली/मंसिर २०
आदिकवि भानुभक्त क्याम्पस दमौलीमा आइतबार सम्पन्न तनहुँ जिल्लाको उच्चशिक्षाको विद्यमान अवस्था र चुनौति विषयक अन्तरकृया कार्यक्रममा सहभागि जिल्ला भरीका क्याम्पस र उमाविका प्रमुख एवं प्राचार्यहरुको बैठकले जिल्लाका उमावि र क्याम्पसहरुलाई सूचना प्रविधियुक्त बनाउने र आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान तथा प्रविधिको उच्चशिक्षा कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने निर्णय गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा आयोजित उक्त अन्तरकृया कार्यक्रमको प्रमुख अतिथि तनहुँका जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाल शिक्षक युनियन तथा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष विजयराज पौडेल, शिक्षक संगठन तनहुँका अध्यक्ष ध्रुवराज सिग्देल, अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारीका अध्यक्ष काशीनाथ गौली, गाउँफर्कोदय उमाविका अम्विका घिमिरे, सत्यवती उमाविका प्राचार्य इन्द्रप्रसाद पौडेल, जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्ले, आँवुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी. लगायतले मन्तव्य गर्नु भएको थियो ।
आदिकवि भानुभक्त क्याम्पस र इरासफ्ट सोलुसन प्रा.लि. काठमाण्डौंको आयोजनामा भएको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले विज्ञान र प्रविधियुक्त शिक्षा विकासमा हाम्रो दायित्व, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले नेपालमा उच्चशिक्षाको अवस्था र उच्चशिक्षा सुधार परियोजना, विज्ञानप्रविधि विषय संयोजक सुलभकुमार श्रेष्ठले वि.आइ.सि.टी. कार्यक्रम, इरासफ्टको म्यानेजिङ डाइरेक्टर ओम खड्काले इ–रिसोर्स र भर्चुअल कक्षा र इरासफ्टका डोमेन विशेषज्ञ चुडामणि न्यौपानेले अटोमेशन अफ स्कुल एण्ड कलेज विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा इरासफ्टका पब्लिक संयोजक तुलसी सिवाकोटीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले स्वागत गर्नुभएको थियो । ७९ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुलाई मसन्द र खाजा इरासफ्ट सोलुसन प्रा.लि. काठमाण्डौले प्रायोजना गरेको थियो भने सहभागिहरुलाई स्थानीय यातायात खर्च क्याम्पसले उपलब्ध गराएको थियो ।


Click here to Downlaod